गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठन

पाेखरा | भदौ २७, २०७९

गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठन

 

कास्की ।  कास्कीको माछापुच्छ्र्रे  गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुग्नुभयो । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उहाँको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्नुहुन्छ । 

 

गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उहाँ खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि पर्नुभएको छ । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँड्नुभएका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित हुनुभयो । अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उहाँ बिएसएममा भर्ना हुनुभएको हो । उहाँ अहिले दोस्रो सेमष्टरमा अध्यनरत हुनुहुन्छ । 

 

पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उहाँले सुनाउनुभयो । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ । “खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ”, उहाँले भन्नुभयो, “ व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।” एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उहाँले बताउनुभयो । 

 

नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उहाँ जस्तै २१ जना अध्ययनरत छन् ।  पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उहाँहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित हुनुहुन्छ । नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहनुभएको छ ।

 

अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताउनुयभो । डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिनुभएको हो । “नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ”, डा सुवेदी भन्नुहुन्छ, “त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।” 

 

बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उहाँको भनाइ छ । चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उहाँले जानकारी दिनुभयो । “ आठ सेमेष्टर सक्दा रु तीन लाख ८० हजार खर्च आउँछ”, उहाँले भन्नुभयो, “यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।”

 

एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिनुभयो । “यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्”, उहाँले भन्नुभयो । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उहाँले बताउनुभयो । अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उहाँको अनुमान छ । 

 

नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिनुभयो । योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताउनुभयो । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ

 

विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्